केही समयअघि मात्रै काठमाडौंका मेयर बालेन शाहको छोटो फेसबुक स्टाटस निकै सान्दर्भिक लाग्यो। यसको सार थियो— “हाम्रा छिमेकीहरूले धेरै हेप्न थाले।” सन्दर्भ थियो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले USAID सम्बन्धमा देखाएको दुराचार र भारत-चीनको व्यवहार। मलाई पनि लाग्छ, मेरो आफ्नै घर-परिवारको आर्थिक सुधार गर्न म स्वयं कडा मेहनत गर्नुपर्छ। यदि अरूले देला, खान पाइएला, लाउन पाइएला भनेर बसियो भने म भिखारी बन्दछु, र जीवनमा कहिल्यै प्रगति गर्न सक्दिनँ। त्यस्तै, नेपालको हकमा पनि अरूसँग मागेर होइन, आफैँ स्रोत जुटाएर, आफ्नो देश आफैँ बनाउनु आवश्यक छ। नेपाललाई माया गर्नेहरू नेपालमै मात्र छैनन्, विदेशमा पनि छन्। अझ भनौँ, यही पहिलो पुस्ता हो, जसले विदेशमा बसेर पनि नेपाललाई उत्तिकै माया गर्छ। तर भोलिको दोस्रो पुस्ताले पहिलो पुस्ताले गर्ने जति माया पक्कै पनि गर्ने छैनन्। किनभने उनीहरू नेपालमा लामो समय बस्दैनन्, र भित्री मनदेखि नै नेपाल आफ्नै हो भन्ने सोच बनाउने सम्भावना कम छ।

नेपाल सरकारले विदेशी नागरिकता लिएका गैरआवासीय नेपालीहरूलाई दिने भनिएको गैरआवासीय नागरिकता प्रदान गर्दा १० वर्षे निःशुल्क भिसा सुविधा दिनु होइन, बरु १००–२०० को अनिवार्य शेयर किन्नुपर्ने बाध्यात्मक शर्त राखियोस्। त्यस पैसाले ठूला जलविद्युत् आयोजना निर्माण गरौँ, देशभर १२ महिना १०० कि.मि. प्रति घण्टा गतिमा सञ्चालन हुनसक्ने राजमार्गहरू बनाऔँ। यस्ता परियोजना कार्यान्वयन गरिएमा धेरैभन्दा धेरै रोजगारी सिर्जना हुनेछ। यसरी गर्दा अहिले विकराल समस्या बन्दै गएको युवा पलायन रोक्न सकिन्छ। लामो समयदेखि गैरआवासीय नेपाली संघ (NRNA) को साधारण सदस्य भएको नाताले, अहिलेको अवस्था देखेर लज्जित महसुस हुन्छ। संघभित्र सधैँ झैँ झगडा, “तँ ठूलो कि म ठूलो”, एकले अर्कालाई स्वीकार्न नसक्ने प्रवृत्ति, र नेपालको राजनीतिक दलका अन्धसमर्थकहरू बन्नुको साटो, अब हामी सबै विदेशमा बस्ने गैरआवासीय नेपालीहरूले नेपाल बनाउन योगदान गर्ने समय आएको छ।