
जन्म-कुंडली
"हेर्नु न आठ आठ वर्ष भैसक्यो यिनीहरूको बिहे भएको, बच्चा पाउने नामै लिंदैनन्। कराउँदा कराउँदै म आफै थाकी सकें, यिनीहरूका कानमा छेउ लाग्ने होइन।" आमा अर्को कोठामा बसेर टेलिफोनमा कुरा गर्दै हुनुहुन्थ्यो, शायद सानी - आमासित। आमाको आवाज अलि ठूलो भएको कारणले गर्दा मैले मेरो कोठाबाट प्रष्ट सुनिरहेको थिए। आमाको यो गुनासो खासै नयाँ भने होइन। उहाँको यो गुनासो मैले केहि वर्षदेखि सुन्दै आएको थिए। सुनिता, मेरी श्रीमती, पनि आमाको यो गुनासोसित राम्ररी परिचित थिईन।
गुनासो नहोस् पनि कसरी? विवाह भएको आठ वर्ष सम्ममा पनि नाती-नातिनी खेलाउन नपाए पछी। खैर आमालाई के थाहा कि मैले र सुनिताले पनि बिगत छ वर्षदेखी अथक प्रयास गरिरहेका छौं भनेर। जति गार्हो आमालाई थियो त्यो भन्दा धेरै हामीलाई थियो। सुनितालाई त झनै धेरै, बताउनै नसकिने।
हामीलाई धेरैबाट धेरै सुझाव आए। केही त अपनायौं पनि। साथीभाइहरूबाट एक थरीका सुझाव आउन्थे भने आफन्तबाट अर्कै थरीका। कोही के भन्थे कोही के। मलाई याद छ मेरा अनन्य मित्रहरू भन्थे पुर्णिमा परेको हप्ताको आईतवारको प्रथम प्रहर सबै भन्दा उपयुक्त हुन्छ। सुनितालाई माइती खलकबाट प्राप्त सुझाव थियो पशुपति मन्दिराको आँगनमा रहेको उन्मुक्तेश्वोर भैरवको भाकल। सबै गरियो, तर हुनु पर्ने कुरा अहिलेसम्म भैसकेको थिएन।
शुक्रबार अफिसबाट निस्किनु भन्दा पहिले रविनको फोन आयो र साँझ नयाँ बानेश्वोरको रेष्टुरेन्टमा बस्ने कार्यक्रम बन्यो। सुनिता हिजोदेखि माईती गएकी थिइन तसर्थ मलाई साँझ बस्न खासै समस्या थिएन। रविन, मुकेश, हरि, विनोद र म छ बजे पूर्व निश्चित कार्यक्रम अनुसार रेष्टुरेन्टमा भेट्यौ। रमाइलो गफ चलिरहेको थियो। हाम्रो गफ अफिस हुँदै राजनीति हुँदै अब बिस्तारै बिस्तारै पारिवारिक कुराहरु तिर उन्मुख हुँदै थियो।
तेस्रो पेगको गिलासलाई स्वात्त पार्दै हरिले भने, "यार, मलाई आजकल बडो टेन्सन छ यार।"
"के भो र त्यस्तो?" मेरो प्रश्न।
"पुष्पा फेरि गर्भवति छिन्।" हरिको जवाफ। सबै जना चकित।
मुकेशले मलाई हेर्दै प्वाक्क बोलि हाले, "कतै घामै घाम, कतै छायाँ छायाँ।" हरिको यो जन्मिने सन्तान तेस्रो थियो। एक छोरा एक छोरी पहिले नै थियो।
मेरो बच्चा नभएर पिउने बेलामा मलाई भन्दा धेरै पीर मेरा अनन्य मित्रहरुलाई हुने गर्थ्यो। अब त झनै हरिको दुईबाट तीन हुने भए पछी त यी मित्रहरूलाई पीर माथि पीर थपियो। साथिहरुलाई मेरो अहिलेसम्म पनि कुनै बच्चा नभएकोमा पीर थियो भने हरिको दुई दुई वर्षको अन्तरालमा भइरहेकोमा।
मैले हरिलाई पीर नलिन भने। विनोद, जो अहिले सम्म चुपचाप हाम्रो कुरा सुनेर पीई रहेका थिए, अचानक बोल्न थाले, "हेर गीतामा भनिएको छ ……."
विनोदले बोल्न के शुरु गरेको थियो हरिले चुप लगाई हाल्यो, "चुप लाग यार, दुई चार पेग चढाउन पाएको छैन, संस्कृत शुरु, कस्ले बुझ्छ?"
विनोद चुप।
सन्दर्भलाई परिवर्तन गर्दै मुकेशले बोले, "मेरो माहिलो बुवा दोस्रो विवाहको तयारीमा जुटेका छन् पहिलोबाट लामो समयसम्म बच्चा नभए पछी।" सबैको ध्यान मुकेशतिर।
"First marriage Niagara, second marriage Viagra." विनोदको मुखबाट प्याट्ट निस्किहाल्यो, तर यसपाली संस्कृतमा होइन अंग्रेजीमा।
सबैको मुखमा हाँसो।
मैले भुटन र व्हिस्कीको स्वाद लिन्दै भने,"यो भनेको personal choice हो यार। मेरो कुरा धेरै फरक छ।"
"मैले तिमीले पनि दोस्रो विवाह गर भन्न खोजेकै होइन। मेरो माहिलो बुवाको कुरा मात्रै हो। गलत अर्थ नलगाउ।" मुकेशको स्पष्टीकरण।
"यसको त सबै ठीक छ क्यारे। केही समय अगाडी मात्रै टेस्ट गराएको थियो क्यारे होइन र?" मतिर हेर्दै हरिको प्रश्न।
"हो। सुनिताको पनि सबै ठिकै छ। के गरौ यार तै पनि नभए पछी।"
“Keep trying my friend, keep trying.” विनोदको सुझाव।
मैले पुलुक्क उतिर हेरें। “Don’t take it seriously यार, just friendly कुरा मात्रै हो।” विनोदले आफ्नो तर्कलाई प्रष्ट्याउन्दै भने।
मैले जवाफमा मुन्टो मात्रै हल्लाएँ।
मेरो गिलासमा व्हिस्की अलिकति मात्रै बाँकी थियो। हरिले त्यस्मा ठप्दै भने, "यो मोरो विनोद अलि यस्तै हो, लाग्न थाले पछी प्याच्च बोली हाल्ने। यस्ले try नै नगरेको त होइन नि। सात आठ वर्षदेखि त्यही त गर्दैछ बिचरा।" हरिले छेड हानेको हो वा सहानुभुति जनाएको हो ठम्याउन गार्हो थियो। मैले केही जवाफ दिइन।
गफ चल्दै थियो। खाना पनि आईसकेको थियो। खाना खाएर राति करिव १० बजे तिर हामीहरु सबै आ-आफ्नो घर तिर लाग्यौं।
राति मलाई खासै निद्रा लागेन। बिगतका कुराहरु पर्दामा चलचित्र चले झै एक पछी अर्को गर्दै आउन थाल्यो। बच्चा नहुनुको मलाई र सुनितालाई आफ्नै पीडा थियो भने आफन्तहरूबाट आईरहने मुटू नै छेड्ने घोच। कहिले काही लाग्थो यी आफन्तहरू नभए कै राम्रो। कमसेकम चाहिने नचाहिने कुराहरु त सुन्नु पर्दैन। केही समय अघि सुनिता र उनकी सानी फूपु एक जना ज्योतिषीकोमा पुगेका रहेछन सुनिताको जन्म कुण्डली सहित। सुनिताको कुण्डलीमा, सो ज्योतिषीका अनुसार, सन्तान सुख छ रे। मेरो पनि एकपल्ट कुण्डली सो ज्योतिषीलाई देखाउनु रे। म भने यत्रो स्वास्थ-विज्ञानले फड्को मारिसक्दा पनि ज्योतिषको पछी लाग्नु उपयुक्त होइन भनेर तार्दै थिए। तैपनि श्रीमतीको कुरालाई मान्दै गत हप्ता सुनितालाई थाहा नदिइ सो ज्योतिषीकोमा पुगेको थिए। तर टेन्सन माथि झन टेन्सन थपियो। ज्योतिषीले आठ वर्षदेखि बच्चा नभएको गुनासो सुने पछी उनले मेरो जन्म-कुण्डली ओल्टाई-पल्टाई सन्तान योग नै नभएको सुनाए। यद्यपी सो समस्याको समाधान पनि भएको बताएर फलानो फलानो गरेर फलानो महादेवको पूजा गर्दा सन्तान हुनसक्छ भन्ने सल्लाह दिए। मैले केही पनि जवाफ नदिई उहाँको दस्तूर तिरेर फर्केको थिए। म ज्योतिषमा भन्दा स्वास्थ-विज्ञानमा विश्वास गर्ने भएकोले होला मलाई उनको सल्लाहमा खासै चासो नभएको। सो दिनदेखि मलाई अलि बढी नै टेन्सन हुनथालेको थियो। राति निद्राबाट बुझिन्दा तिनै कुराहरु दिमागमा आउने भएकोले बिहान ब्युझिन्दा दिमाग बोझिलो हुन्थ्यो। यस्तै यस्तै तर्कनामा म कहिले निदाए पत्तो नै पाइन।
++++++++++++++++++++++++++++++++++
यसपाली सुनिता माईतीमा अलि लामै समय रहिन्। करीव दुई हप्ता पछी उनी घर आइन्। अरु बेला भन्दा यो पाली उनी फरक देखिएकी थिएन, लाग्दथ्यो उनी भित्रैदेखि सार्है खुशी थिइन। राती सुत्ने बेलामा उनले भनिन, "सुन्नु न हिजो डाक्टरकोमा गएकी थिए चेक-अप गराउन।" यो कुनै नौलो कुरा थिएन मेरो लागि। तसर्थ "ए" मात्रै भनें।
"यसपली त पोजिटिभ रिजल्ट आयो नि।"
यो सुने पछी म उनीतिर पुलुक्क हेरें। विश्वास नै लागेको थिएन। उनको आँखा रसाई सकेको थियो। मैले पनि आफुलाई थाम्न सकिन। मेरो पनि आँखा रसाएर आयो। उनलाई म्योई खाएँ। यो हाम्रो जीवनको सबै भन्दा खुशीको क्षण थियो। त्यो रात हामी एक अर्कोमा समर्पित भएर बितायौं।
+++++++++++++++++++++++++++++++
खुशीको सिमाना थिएन। भोलिपल्ट अफिसमा रमाइलो सितै दिन बित्यो। म एउटा दैनिक पत्रीकाको लागि लेखको तयारी गर्दै थिए। सो सम्बन्धी सामाग्री मैले अफिसको टेबुलको घर्रामा राखेको थिए। घरमा लगेर लेख सकाउनु पर्ला भनेर सो सामाग्री निकाल्न घर्रा खोलें। सबै भन्दा माथि गत हप्ता ज्तोतिषीकोमा लिएर गएको मेरो जन्म-कुण्डली थियो। अचानक ज्योतिषीले सन्तानयोग नभएको भनेर भनेको कुरा सम्झें। मन अमिलो भयो। मनमा शंका उपशंका उब्जेर आयो। सुनिता माथि शंका लाग्यो। तर मनलाई थामें। सम्झें ज्योतिषीले जे भनेको भए तापनि सुनिता माथि मेरो विश्वास अटल थियो। फेरि स्वास्थ परिक्षणमा मेरो र सुनिताको कुनै नेगेटिभ कुरा थिएन।
कुण्डलीलाई अफिसको ब्यागमा कोचें। फर्किन्दा बाटोमा पर्ने ठुलो पूल नजिकै गाडी रोकें। ब्यागबाट मेरो जन्म-कुण्डली निकालें, ढोगें अनि पूलमाथिबाट त्यसलाई त्यो ठुलो नदीमा फ्यालिदिए। नदीको पानीले त्यसलाई बगाएर लाग्यो। आँखाले भ्याएसम्म हेरिरहें। नदेखिने भए पछी गाडीमा फर्कें।
लामो श्वास ताने र गाडीलाई घर तिर लगें - मीठो भविष्यको आशामा।