
सम्बन्ध
कल्याणको विदेश बसाईले पनि दुई दशक नाघी सकेछ। आफ्नो नाम जस्तै ऊ मौका मिल्नासाथ आवश्यकता अनुरुप अरुको कल्याणमा अघि सरी हाल्छ। उसलाई सधैँ लागी रहन्छ समयले पर्खँदैन। सहयोगको दरकार परेकालाई जे खाँचो छ त्यो आजै गर्नु पर्दछ। समयको पछि दगुर्दा-दगुर्दै कहिले कहाँ बिराम लाग्दछ कसैलाई पत्तो हुँदैन भन्ने लाग्दछ उसलाई।
पराई देशमा संघर्षरत जीवन बाँच्नेका लागि स्वदेशमा बस्नेले सोचे जस्तो दैनिकी त्यति सहज पनि छैन। भागदौड र खटाई उग्रनै हुन्छ। स्वदेशमा बरु सास फेर्ने फुर्सद छ। विदेशमा यति खटेन भने हात- मुख जोर्ननै कठिन हुन्छ। औसतको कमाई अरुले सोचे जस्तो चुली नाघेर पोखिने खालको पनि हुँदैन । थोपा थोपा गरेर कमाई संचित गर्दा पनि दैनिकी कष्टकर हुनु अस्वाभाविक छैन। अलिक राम्रै वस्तु खरीद गरेर दैनिकीलाई अलिक आरामदायी बनाउँ भन्दा दस पटक सोच्नु पर्ने अवस्था हुन्छ। यति हुँदाहुँदै पनि कहिलेकाहीँ मातृभूमिका स्वजन र आपदमा परेकालाई केही सहयोग गर्दा कल्याणलाई बिछट्टै सन्तुष्टि मिल्दछ।
केही वर्ष बिराएर आफ्नो मुलुक एवम् आफू जन्मेको गाउँ जानु उसको र परिवारको लागि सधैँ जीवनकै अति सुखद र रोमाञ्चित क्षण हुन्छ। ऊ आफ्नो मुलुकमा नोकरीमा छदाँका होस् वा अध्ययनताकाका साथीभाइ अनि नातागोता होउन् प्रायःसंग सम्पर्क टुटेको धेरै वर्ष भई सकेको छ। ऊ लामो उच्छवास् छर्दै विगतका आफू नजिकका लाई सम्झन्छन्। उनीहरुसंग सम्पर्कमा रहिरहने उसको सतत प्रयास भए तापनि उनीहरुले शनैः शनैः सम्पर्क पातलो गरी सकेका छन्। यसले उसलाई प्रायः भावुक बनाउँदछ साथै उनीहरुले यसो गर्नुका कारणप्रति उसले बारम्बार गम्भीर भई सोचे पनि ऊ कुनै निष्कर्षमा पुग्न सकेको छैन। अतिनै घनिष्ठ सम्बन्ध हुने गरेकाहरुसंग भेट हुँदा पनि उसलाई उनीहरुको व्यवहार अनौठो किसिमको हुने गरेको तितो अनुभूति हुन्छ। उसलाई लाग्दछ के जीवनको कुनै कालखण्डमा सुरु भई सुचारु भएको सम्बन्ध जीवनपर्यन्त निःस्वार्थ एवम् निःसर्त हुनु पर्ने होइन र?
कैयौँपटक सामाजिक माध्यमले सुचित गर्दा चिने- जानेकालाई सहयोग गर्ने उनको आदत छ। यसै सिलसिलामा एक पटक उसको आँखा कुनै समय अति नजिक सम्बन्ध भएका एक मित्रको उपचारका लागि आर्थिक सहयोगको याचना सहितको फेस बुकको पोष्टमा पर्दछ। उसले अबिलम्ब मित्रलाई सम्पर्क गरी उपचारको लागि आर्थिक सहयोग रकमान्तर गरि दिन्छ। बिरामी मित्र फोनमै रोएर अकस्मात सम्पर्कविहिन भएकोमा क्षमायाचना गर्दै सहयोगको लागि कल्याणलाई उसले धन्यवाद दियो।
कल्याणलाई लाग्दछ विदेशियो भन्दैमा कोही पनि स्वदेशदेखि मनले टाढा हुँदैन। उसको मन मस्तिष्कमा स्वदेशप्रतिको प्रेमभाव अबिरल बगिरहेको हुन्छ। केवल भौतिक रुपमा दूरी कायम छ। विदेशमा बसिरहेकै नाताले स्वदेश र आफन्तसंगको आत्मीय सम्बन्ध सर्वथा घटेको वा भनौँ बिलाएको हुँदैन। तर नातागोता एवम् साथीभाइले राख्ने दूरी एवम् कथंकदाचित भेट हुँदा उनीहरुले गर्ने अनौठो व्यवहारले अद्यापि आश्चर्यचकित छन् कल्याण। आपसी सौहार्द सम्बन्धले सामाजिक संरचनामा सकारात्मक प्रभाव पार्दछ भन्ने वास्तविकतामा भने कल्याणको विचार अबिचलित छ।