(छन्द: तोटक)

मनमा सुविचार सदा सुषमा

अनमोल नयाँ चपला रसिला

अलका पुर झैँ सुनका जगमा

म सजाउँ सधैँ रसिला सपना

 

फल काफल भै नविना वसुधा

सजला धरणी रमिता रसका

छ घना वनमा सजना कमला

ममता मृदुला रसना नयना

 

नभ यो शिवको मणि मन्दिर हो

धरती हरियो हरिको घर हो

भव चञ्चल यो रङमा सजिने

मन मङ्गलका धुनले भरिने

 

सरिता जलमा रविका अधर

रमणी वदना सकला मदन

सरला छ सुरम्य छटा रुपमा

धरती करुणा ममता उपमा

 

करमा छ सुकोमल देश अहो

हर बाग खुशी भर नन्दन यो

सविता र शशी सुरका छविमा

सब मुग्ध खुशी म बनाउँ कि ता

 

कविता नव भाव सदा सुरिला

कलिला नव बालक छन् हँसिला

सुरका पुरको रस जीवन यो

अझ सार्थक श्री बन मानव हो