(छन्द : मालिनी, आफ्नो उमेर छयासी बर्ष पुगेर सतासी बर्षमा लागेको जन्मदिनको उपलक्ष्यमा प्रस्तुत।)

(१)

गति विधि अब सुस्तै मन्द भो पुत्र हेर

सुख दुख सँग चासो गर्न छाड्यो उमेर

नयन धमिलिएछन् दृष्टि पुग्दैन टाढा

जति जति वय ढल्क्यो स्नेह बन्दोछ गाढा ।

(२)

कदम कदम लट्ठी बन्न थाल्यो भरोसा

चरण लग लगाए दूर भै' गो कराँसा

मृदु सिमल भुवाको विस्तरा लाग्छ साह्रो

अवयव पनि भारी बन्छ उठ्नैछ गाह्रो ।

(३)

जति असक अवस्था हुन्छ, ईच्छा अनेक

सक सक खुन खुत्रो खोज चासो हरेक-

-हुनु पनि किन होला, लाग्छ संझी उदेक

स्थविर पन, गुमाई दिन्छ झैँ भो, विवेक ।

(४)

विगत समयका ती जीवनीका कहानी

कटु मधु अनि बाङ्गो भोगिएको जवानी

हित अहित सखाको झल्झली सम्झना भो

शिशु वय कति मिठो, विर्सनै हुन्छ गाह्रो ।

(५)

तरुण वय, नमीठो साथ मीठो मिसेको

रस रुधिर दुशास्ताबाट सक्तो चुसेको

अशुभ कठिन कारा-काल मानेँ नमीठो

सम मति सुखसखाको प्यार पाएर मीठो ।

(६)

शिशु वय र जवानीको कुरा के गरौँ र ?

ऋण धन जति जे भो काल के ले भरौँ र ?

सुखद दुखद जस्ता वृत्तछन् लेखिएका

अनुपम इतिहासै हुन् कथा भोगिएका ।

(७)

दिन दिन वय नेटो पार भै' गो छयासी

समय छ वस कस्को ? हाय! लागेँ सतासी

अगल बगल आफ्ना पुत्र पौत्रादि सारा

प्रमुदित मुख देखे लालसा भो सहारा ।

(८)

चक चक चक गर्ने बाल निष्पाप चाल

कच कच कच गर्ने गन्थने वृद्ध हाल

स्मृति विषय बुढाको ज्ञान दानादी धेय

भुवन विषय बच्चा निम्तिमा हुन्छ ज्ञेय ।

(९)

प्रकृति शिशु र पाका वर्गको भिन्नता यो

अबुझ जन नजानी भन्दछन् गन्थने पो

क्रम सँग वय गौँडो उक्लँदा ज्ञान धारा

विकसित हुनजाने मर्त्यको हो सहारा ।

(१०)

किन किन सब मान्छेको स्वभावै विचित्र

सकल अकल आफैँ भित्र ठान्ने पवित्र

युवजन त पुरानो चिन्तना व्यर्थ ठान्ने

स्थविर, नव युवाको ज्ञान अर्धार्ध मान्ने ।

(११)

अनुचित छ अहन्ता यी दुबैको विचार

जरुरत अनुसारै झिक्न खोजे नि सार

स्थिति समय निहारी औचितीको विवेक

दृढतर मन पारी रोज है एक एक।

(१२)

प्रिय सुत र सुतामा देशना रुप आफ्नू

अभिमत दिन लेखेँ पद्य याद राख्नू

स्थिति, समय निहारी औचितीको विवेक

दृढतर मन पारी गर्नु है एक एक ।

(१३)

विकट छ शिव यात्रा मार्ग यो जिन्दगीको

विचलित नबनेरै साफ होस् गन्दगीको

असल चरित आफ्ना वंश पंक्ति तयार-

-गर भरपुर माया बाल बच्चा सयार ।

(१४)

मनुज जनन मात्रैले कहाँ बन्छ मान्छे ?

तन-मन-जन सेवा लग्न, पो हुन्छ मान्छे

सकभर जन सेवा तर्फ लागे, वरत्र-

-सँग सफल भएको मानिने हो परत्र ।

(१५)

जनक जननि हामी वृद्ध छौँ आयुले त

तल वितल कदाचित् पर्न के बेर लाग्छ

उस बखत समाले पुत्र हे धीर बन्दै

दुखद अपरि हारी सत्य यो मर्त्य मान्दै ।