स्वस्थ जीवनयापनका लागि आहार–विहार तथा योग विज्ञानको सन्तुलन आवश्यक छ। शरीर र मनलाई पूर्णरूपमा स्वच्छ, स्वस्थ, स्फूर्ती, सन्तुष्ट तथा व्यवस्थित राख्नको लागि प्रत्येक मानवले विशेषतः आहार–विहार तथा योग विज्ञानमा ध्यान पुर्‍याउनु अति आवश्यक छ।

मानव शरीरमा सबै खालका विकार तथा रोगहरू उत्पन्न गराउने र अस्वस्थ बनाउने प्रत्यक्ष कारण दैनिक रूपमा ग्रहण गर्ने आहार नै हो। शरीर स्वस्थ, स्फूर्ती र स्वच्छ रहन हामीले सेवन गर्ने खानाहरूबाट प्राप्त हुने पोषण तत्वको सबैभन्दा बढी प्रभाव रहेको हुन्छ। हामीले खाने खाद्यान्नहरूबाट मुख्य रूपमा कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो, लवण, खनिज र पानी जस्ता ६ प्रकारका पोषण तत्वहरू पाइन्छन्। यी पोषण तत्वहरूबाट प्राप्त हुने ऊर्जाको कारण मानव पूर्णतः स्वस्थ रहने गर्दछ। त्यसैले प्रत्येक मानवको स्वास्थ्य र जीवनयापन सहज गर्न आहारबाट प्राप्त हुने पोषणको ऊर्जा नियमित र सन्तुलित हुनु अति आवश्यक हुन्छ।

भनिन्छ, ‘‘जस्तो आहार उस्तै तन, जस्तो आहार उस्तै मन” हुन्छ। शरीरलाई कस्तो बनाउने र मनलाई कस्तो राख्ने भन्ने कुरा हामीले ग्रहण गर्ने आहारबाट निर्धारित हुन्छ। पौराणिक दृष्टिकोणले आहारलाई तीन प्रकारमा विभाजन गरिएको छ।

  • तामसिक आहारः

तामसिक आहारले शरीरलाई प्रत्यक्ष रूपमा नकारात्मक विचार, तनाव र उदासीनता तर्फ लैजान्छ, फलस्वरूप मन अशान्त गराउने र एकाग्रता हुन कठिन पर्दछ। यस आहार समूहमा प्रशोधित खाना, डिब्बामा बन्द खाद्यसामग्री, अत्यधिक तारेको चिल्लो र मसालेदार खाना, पत्रु खाना (जङ्क फूड), मदिरा तथा मासुजन्य पदार्थहरू पर्दछन्। यस्ता खानेकुराहरूले मानवको चेतनालाई न्यून बनाइदिन्छ। लामो समयसम्म यस्ता आहारहरू सेवन गर्ने मानिस आलस्यताले भरिएको हुन्छ र उसले सबैभन्दा महत्त्वपूर्ण स्थान ओछ्यानलाई सम्झिन्छ। यस्ता मानिसहरू बस्न पाए उठ्दैनन्, उठे भने हिँड्दैनन्, हिँडे भने दौडिँदैनन् र जतिसुकै बेला भारी रहन चाहन्छन्। संसारको कुनै पनि कुरालाई महत्त्व दिँदैनन्। भारी पेट हुने गरी भोजन गर्दछन् र त्यो भोजनको भारले गहिरो निद्रामा डुब्न चाहन्छन्। नियमित तामसिक भोजन गर्ने व्यक्ति आफ्नो दैनिकी चलाउनको लागि समेत काम गर्दैन र खाएको खाना अपच हुन गई विभिन्न रोगहरूले आक्रमण गर्न सक्छ।

  • राजसिक आहारः

राजसिक आहारले शरीर र मस्तिष्कलाई बढी क्रियाशील बनाएर मनमा अशान्ति गराउने, उत्तेजना र अधैर्यता बढाउँछ। यस आहार समूहमा अत्यधिक चिल्लो–पिरो, मसालेदार खाना तथा मासु र पेय पदार्थहरू पर्दछन्। यसैगरी चिया कफी र अमिलो पनि यसै आहार समूहभित्र पर्दछन्। यस्ता आहारहरूले शरीरलाई बढी ऊर्जा दिने हुँदा, व्यक्तिहरू जीवनमा बढी दौडधुप गरेर केही नयाँ कुरा हासिल गर्न चाहन्छन्। आफ्नो जीवनमा जे भइरहेको हुन्छ त्यसमा असन्तोष भई सधैँ अधैर्य हुने गर्छन्। यस्तो आहार सेवन गर्ने व्यक्तिहरूले आफूलाई स्वस्थ राख्न जुम्बा गर्ने, जिम जाने साथै शारीरिक व्यायाम पनि गर्दछन्। यस्ता क्रियाकलापहरू गरे तापनि अन्ततः शरीरमा असहजता उत्पन्न भएर शरीर नै अस्वस्थ हुन थाल्दछ।

  • सात्विक आहारः

सात्विक आहारले मानिसको जीवनमा उज्यालोपन ल्याउन र जीवनको गन्तव्यमा स्पष्टता पैदा गर्न सहायक सिद्ध हुन्छ। यस्ता भोजन लिने व्यक्तिका निर्णय क्षमता राम्रा हुन्छन् र शरीर पनि सुन्दर, ध्यान र योग अभ्यासमा सहयोग पुर्‍याउँछ। यसै गरी यस्तो आहारले व्यक्तिमा एकाग्रता बढाउँछ, तनाव घटाउँछ र सकारात्मक सोचको विकास गर्छ। यसले शरीरलाई ऊर्जा दिन्छ र रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यस आहार समूहमा ताजा फलफूल, सागसब्जी, रसिलो खानेकुराहरू, नट्स, दुग्धजन्य पदार्थहरू, मह तथा अन्य सुपाच्य अन्नहरू खासगरी उम्रिएका भोजनहरू यस अन्तर्गत पर्दछन्। तर, लसुन र प्याजले मनलाई उत्तेजित बनाउने हुनाले उम्रिएको भए पनि यस भोजन समूहमा पर्दैन। आयुर्वेद अनुसार, स्वस्थ शरीर र स्थिर मनको लागि सात्विक आहार सर्वोत्कृष्ट मानिन्छ।

यसै गरी यस्ता भोजन सेवन गर्ने व्यक्तिहरूले धेरै पनि खाँदैनन्, जीवनमा ऊर्जा प्राप्त गर्न जति आवश्यक छ त्यति मात्र खान्छन्। त्यसले गर्दा उनीहरूको शरीर स्वस्थ, स्फुर्तिलो र मनमा शान्ति, अनुहारमा कान्ति प्राप्त गर्छन्। यस्ता व्यक्तिहरू केवल दौडनका लागि खाँदैनन्, खानको लागि दौडिँदैनन् र आफ्नो शान्ति स्थिरतामा सबै काम सम्पन्न गर्छन्। यस्ता व्यक्तिहरू दुर्लभ भेटिन्छन् र यस्तै व्यक्तिहरूले संसार हाँक्ने क्षमता राख्छन्।

योग विज्ञान

मानव शरीरको प्राकृतिक गुण अनुसार विभिन्न किसिमबाट शरीरलाई चलायमान गर्दै आफ्नो मन र शरीरलाई संयोजन गर्नु नै योग हो। विशेष विधिको अनुसरण गरेर निश्चित प्रकारले शरीरलाई तन्काउने, खुम्चाउने, मर्काउने र श्वास–प्रश्वासलाई लामो र गहिरो गरेर लिनु–फाल्नु तथा शरीरलाई स्थिर राखेर मौनतामा बस्ने अभ्यास नै ध्यान साधना हो। योग विज्ञान पूर्वीय अध्यात्म दर्शनको सबैभन्दा प्रभावकारी विषय भएकोले यसको मानव कल्याणका लागि अति महत्त्वपूर्ण योगदान रहेको छ। वैदिक सनातन शास्त्रहरूका अनुसार निरन्तर आत्मस्मरण अथवा म चेतना हुँ भन्ने भावमा जिउनु नै सही अर्थमा योग हो। वर्तमानमा हरक्षण आफ्ना वरपर भइरहेका सबै गतिविधिहरू प्रति जागरुक, साक्षी तथा होसपूर्ण रहनु योगको सरल परिभाषा हो। योग साधना (योगाभ्यास, प्राणायाम र ध्यान) को माध्यमबाट शरीरलाई स्फूर्ती गर्ने तथा श्वास प्रश्वासको गति बढाउने/कम गर्ने तथा शरीर स्थिर गर्ने (रेचक, पूरक र कुम्भक) आदि प्रकारका गतिविधिहरू नै योग विज्ञान भित्र पर्दछन्।

जीवन विज्ञान

जीवन विज्ञान एक आधुनिक आध्यात्मिक केन्द्र हो, जसले योग, ध्यान, मनोवैज्ञानिक ज्ञान र व्यवस्थापन विकास कार्यक्रमहरू मार्फत खुशी हुँदै आध्यात्मिक जीवन जिउने कला सिकाउँछ। यस केन्द्रको एक गहन दृष्टिकोण रहेको छ, जुन पृथ्वी सीमाहरूभन्दा पर जान्छ र मानव आत्माको सबैभन्दा गहिरो आकांक्षाहरूसँग प्रतिध्वनित हुन्छ। जीवन विज्ञानले सत्य खोज्ने र आध्यात्मिक यात्रामा लागेकाहरूको लागि एक पवित्र आश्रयस्थलको रूपमा काम गर्दछ।

जीवन विज्ञानले आध्यात्मिक ज्ञान र आत्मज्ञान प्रति समर्पित रहँदै, भित्री जागरण र आत्मबोधको मार्ग उज्यालो पार्छ। कुनै पनि धार्मिक रुढीवादी वा सम्प्रदायगत सीमाहरूबाट मुक्त रहेर यस केन्द्रले विश्वव्यापी सत्यको एक प्रकाश स्तम्भको रूपमा उभिएको छ, जहाँ शान्ति र आध्यात्मिक वृद्धिको खोजी गर्ने सबै व्यक्तिहरूलाई हार्दिक स्वागत गर्दछ।

जीवन विज्ञान केन्द्रमा जोडिने व्यक्तिहरूलाई, ध्यान र चेतनाको पवित्र साधना मार्फत आफ्नो अस्तित्वको भित्री यात्रा गर्न सशक्त बनाउँछ, जसले आफ्नो वास्तविक स्वरूपमा लुकेर रहेका खजाना खोल्न मद्दत गर्दछ। जीवन विज्ञान केन्द्रका कार्यक्रमहरू आधुनिक व्यवस्थापन सिद्धान्त, मनोविज्ञान र आध्यात्मिक अभ्यासको एक पवित्र संयोजन प्रदान गर्दछ।

जीवन विज्ञान केन्द्रले स्वस्थ व्यक्ति, स्वस्थ परिवार, स्वस्थ समाज, स्वस्थ राज्य र स्वस्थ मानवताको विकासका लागि सकारात्मक योगदान र सेवा भाव पुर्‍याउन आफ्ना विभिन्न केन्द्रहरू मार्फत जीवन विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको छ। केन्द्रले जीवन विज्ञान प्रशिक्षक बन्नको लागि चक्र विज्ञान/ऐश्वर्य विज्ञान, बोध विज्ञान र लय विज्ञान जस्ता गहिरा साधना पश्चात आफ्ना नियमित साधकहरूको लागि एक हप्ताको प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गर्दछ। तीनै आध्यात्मिक ज्ञान र योग साधनाले निखारिएका तालिम प्राप्त प्रशिक्षकहरूबाट हाल नेपाल सहित ७० भन्दा बढी देशहरूमा २५० भन्दा धेरै प्रयोगशालाहरू सञ्चालनमा छन्। यस केन्द्रका संस्थापक जीवन विज्ञान विशेषज्ञ, श्रद्धेय गुरुदेव रमेश नेपाल र एल पि भानु शर्मा हुनुहुन्छ र यसको केन्द्रीय कार्यालय नेपालमा काठमाडौंको चावहिल स्थित गणेश मन्दिर पछाडि रहेको छ।

१३ औं वार्षिक उत्सव मनाइसकेको जीवन विज्ञान नेपाल लगायत अमेरिका, बेलायत र अष्ट्रेलियामा कानुनी रूपमा नै दर्ता भई सञ्चालनमा रहेको छन् र विश्वभरिमा हालसम्म ४ करोड भन्दा बढी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जीवन विज्ञानको साधनामा संलग्न छन्।

अष्ट्रेलिया/न्युजिल्याण्डमा पनि अनलाइन जुमको माध्यमबाट दैनिक बिहान ७:०० देखि ८:३० सम्म र अपराह्न, शनिबार बाहेक अन्य दिनहरूमा ९:०० देखि १०:०० सम्म जीवन विज्ञान प्रयोगशाला सञ्चालन हुँदै आएको छ। जीवन विज्ञानले योग, प्राणायाम र ध्यानको माध्यमबाट सम्पूर्ण विश्वलाई तनावमुक्त बनाई सुख, शान्ति र समृद्धिको बाटोमा अग्रसर बनाउने सदिक्षा राखेको छ ।