तिमी फुल जस्ती नहुनु,

तिमी कोपिला जस्ती पनि नबन्नु,

तिमी मन्जरी त हुँदै नहुनु,

यदी परे भने पापी नजर तिमीमा,

टिपियौ भने,

चुँडियौ भने कुनै निर्मम हातबाट,

फ्याँकियौ भने कतै सडकमा,

मेरो जीवनको धरहरा ढल्नेछ,

मेरो भरोसाको  आकाश खस्ने छ,

मेरा खुशीहरुको अन्त्यस्टि हुनेछ,

म जिउँदो लास हुनेछु,

अनि,

धिक्कार्ने छु आफुलाइ जिबनभर,

तिमीमा सुरक्षा कवच लाउन नसकेकोमा।

 

बरु ढुङ्गा बनिदिनु तिमी,

बजार्न खोजे मूड्कि तिमीमा,

टुक्रीउन् तिनका पापिस्ट हस्त हड्डीहरु,

अझै काँडा बनिदिनु तिमी,

टिप्न खोजे जबर्जस्ती  तिमीलाई,

प्रतिउत्तरमा ढलुन् रगतपक्ष बनि ।

 

रामको भक्ती गर भन्दिन मेरी छोरी,

अनकण्टार वनमा सितालाई एक्लै छाडेर,

हरेपछी रावणले,

फिर्ता ल्याएर आफैँ,

सीताको सतित्व नपत्याउने ती राम,

मेरा आदर्श होइनन्, नपुज्नु तिमी पनि,

बरु मन, बिचार मन्थन गरेर,

एक लोटा बिश्वास आफैंमा जगाउनु मेरी छोरी ।

 

जन्माउने अधिकार पाएर पनि,

तिम्रो भाग्य लेख्न बाट बन्चित म,

भन्दिनँ,

कुनै भाग्य देबताको आरधना गर,

बरु भन्छु दृढता अनि कर्मठ तिम्रा पाखुरीबाट,

आफ्नो भाग्य आफैं निर्माण गर ।

 

दुधे बालिका तिमीलाई काखमा च्यापेर,

 छाउगोठमा कैयन रात बिताएकी छु मैले,

 थोत्रो च्यादरमा तिमीलाई गुट्मुट्याएर,

फरियाको एक छेउ सिरक अनि अर्को छेउ सिरानी आफ्ना लागि,

म सम्झन सम्म चाहन्न त्यो कालो रात मेरो जिबनको।

 

समाज नामको ममताहिन भ्रमको थाङ्ग्नामा,

निश्चिन्त निदाउ पनि भन्दिन म, मेरी छोरी,

बरु भन्छु आफैँभित्र विश्वास, मानवता,

करुणा अनि कर्तव्यपरायणताको,

एउटा सुन्दर गाउँ बनाउनु,

अनि रमाउनु उहि बस्तीमा,

कसैले एकलकाटे भनुन्,मलाई चिन्ता छैन,

तर नजानु है प्यारी छोरी,सुत्न उही निर्जन  छाउपडिमा  ।