राजा जनकले आफु भिखारी भएको ,भोकले आत्तिएको,अनि कसैले केही दाल-चामल दिएर,चौरको छेउमा खिचडी पकाउन थालेको, त्यैबेला दुईवटा साँढे लड्दै आएर सबै खिचडी पोखिदिएको " सपनामा देखे। अनि सपनाबाट राजा बिउँझिए ।सपनाको भिखारी र अहिलेको राजा म एउटै हुँ कि फरक फरक हुन भन्ने दुविधाको चिन्तनले राजा जनकलाई आत्मज्ञान भएको थियो। यसको अर्थ हो सपना सामान्य कुरा नभै परिवर्तनको कारक पनिहुन्छ । साधारणतया सपना कुनै उल्लेख्य वस्तु पनि होईन।

वैज्ञानिक भाषामा सपनालाई जसरी ब्याख्या गरे पनि निद्रामा सबैकुरा स्पष्ट देखिनु पनि सामान्य कुरा होईन। मानिस चार प्रकारका चक्षुले (आँखाले) देख्छ, ती हुन्‌ चर्मचक्षु ,मनोचक्षु, ज्ञानचक्षु,र दिव्यचक्षु। सूर्यको प्रकाश र विद्युत प्रकाशमा वा अन्य कुनै भौतिक प्रकाशमा चर्मचक्षुले देख्न सक्दछ। चर्मचक्षुको प्रकाशमा वा यसको अनुभवमा मनोचक्षुले देख्छ, मनोचक्षुको प्रकाशमा ज्ञानचक्षुले देख्छ। चर्मचक्षु ,मनोचक्षु र ज्ञानचक्षुको संयुक्त प्रकाशमा दिब्यचक्षुले देख्छ। सपना मनोचक्षुको कारक हो। दृष्टिविहीनको सपना फरकहुन्छ। सपनामा कित देखे ब्यहोरेको कुरा देखिन्छ कि सोचेविचारेको। कहिले काहीं सोचेका, विचारेका वा घटेका धेरै घटनाको मिश्रणका रुपमा सपना देखिएको हुन्छ। कसैकसैको सपनामा भविष्यमा घट्ने घटना समेत देखिन्छ भन्दछन्, प्रमाण दिन निकै गाह्रो छ। वास्तवमा सपना विचार हो, सोचहो ,केही हदसम्म शारिरीक अवस्था पनि हुन सक्दछ। निद्रामा परेको बेला कहिले काहीं छातीमा हात परेछ भने पनि डराउने खालका सपना देखिन्छ, त्यस्ता सपना चर्मचक्षु र मनोचक्षुले देखेको होइन, ज्ञानचक्षुले अनुभव भएको कुरा देख्नु पर्नेहो त्यो पनि यहाँ सम्भव छैन, यो आत्माको निर्देशनमा दिब्यचक्षु सकृय भएको देखिन्छ। सामान्यतयाः दिब्यचक्षु सकृय हुँदैन। शरीरको असामान्य स्थितिमा मात्र मनलाई डराउने खालका सपना देखिन्छन। अर्को तर्फ आनन्दित बेलामा समेत दिब्यचक्षुले सपना देख्न सक्दछ। दिब्यचक्षुका बारेमा सिद्ध ब्यक्तिले मात्र ब्याख्या गर्न सक्दछन तर मनोचक्षुले विपनामा पनि सपना देख्छ। मनोचक्षु कल्पना सागर पनि हो। यसले कल्पित वस्तुलाई ज्ञानचक्षुको सहयोगमा साकार रुप दिन्छ। उदाहरणका लागि एउटा ईन्जिनियरले नक्सा कोर्छ त्यो कल्पना हो, त्यही सपना हो उसलाई मनोचक्षुले देख्छ, अनि त्यसकोआधारमा विशाल पुलको निर्माण गर्छ ।त्यसैले ब्यक्तिले आफ्नो मनोचक्षु स्थिर गर्नु पर्छ, एकलब्यको चक्षु सरह एकाग्र भए मात्र मानिसका सपना सफल हुन्छन्‌। सपनाको सफलता नै ब्यक्तिको सफलता हुन्छ।

चक्षु विहिन ब्यक्ति कुरुप देखिन्छन्‌ त्यसमा उनको दोष हुँदैन, उसको मनो चक्षु शुद्ध र सभ्य भए उ सुन्दर देखिन्छ, तर सुन्दर चक्षुयुक्त ब्यक्तिले मनो चक्षु विकृत बनायो भने उ अरुको नजरमा झन कुरूप हुन्छ। मनोचक्षु विचार पनि हो, यसले मानिसलाई परिष्कृत बनाउँछ। मनो चक्षु मानिसको मुख्य आँखा हो। योआँखाले राम्रो काम गर्न नसके सबै चक्षु (आँखा) ले काम गर्दैनन्।

अध्ययन गर्न विद्यार्थीलाई मन एकाग्र र शुद्ध चाहिन्छ तव मात्र उसले उचित ज्ञान प्राप्त गर्न सक्दछ। अन्यथा उसका पुस्तकका पाना फर्कि सक्छन ज्ञान चक्षुमा पर्दा लाग्छ उस्लाई केही प्राप्त हुँदैन। लोकसेवाको तयारी गरिरहेका ब्यक्ति, कुनै कारिगर, आर्टिष्ट सबैलाई मनो चक्षु अथवा मन शुद्ध राखेर एकाग्र भएर काम गरे सबै आ-आफ्नो क्षेत्रमा निश्चित सफल हुन्छन्‌। अत: शुद्ध मनोचक्षु नै सफलताको कुँजी हो। मनोचक्षुले चर्मचक्षु ,ज्ञान चक्षु, र दिव्यचक्षु सबैलाई प्रभाव पार्छ। यहाँ सम्मकि आध्यात्मवादीका पुनर्जन्मको सिद्धान्तले मनको वर्तमान चाहना अनुसार मानिसको अर्को जन्म हुन्छ ।

मन, बुद्धि र संस्कार आत्माका सूक्ष्म शक्ति केन्द्र हुन्‌। शक्तिकेन्द्र सदैव बलिया हुनुपर्छ, मन बाहेक अर्को केन्द्र बुद्धि अथवा ज्ञान नै हो ,संस्कार पनि ज्ञान हो।

दिब्य चक्षु भनेको सम्बन्धित विषयमा विशेष ज्ञान हो ,अर्थात पूर्ण ज्ञान हो। श्रीमदभगवद् गीतामा संजयले हस्तिनापुरबाट कुरुक्षेत्रको लडाईं हेर्न व्यासजीले दिव्य चक्षु दिनुभएको थियो अर्को त्यही लडाईको मैदानमा अर्जुनलाई श्रीकृष्णले नै दिव्यचक्षु दिनुभएको थियो। दिव्य चक्षु आत्मामा उत्पन्न हुने सर्वोच्च ज्ञान हो। यसको अर्थ असल गुरुबाट असल शिक्षा प्राप्त हुन्छ। अत:आफ्ना सपना साकार गर्न मनलाई एकाग्र र शुद्ध बनाएर योग्य गुरुको सहयोग लिन आवश्यक हुन्छ।

आजको जमानामा ज्ञान आर्जन गर्ने साधनको कमी छैन ।टिभि, यूट्युब, गुगल र अन्य धेरै साधन सहयोगि हुन सक्दछन्‌। समाचारपत्र मात्र उपलब्ध हुने बेलामा समाचार पत्रलाई ज्ञान आर्जनको साधन भनिन्थ्यो, अहिले पनि त्यसको महत्व कम छैन तापनि हाल अन्य साधन बढी सुलभ छन्‌। अत: बुद्धि,चक्षु (आँखा),ज्ञान र वातावरण सबै पर्यायवाची जस्तो देखिन्छन । जेहोस आफ्नो जीवनको सफलताका लागी उचित मार्ग खोजेर संघर्षमा लाग्ने भने सपना साकार बनाउन सकिन्छ।

माथि उल्लेख गरिए भन्दा फरक चक्षु अर्थात तेश्रो नेत्र प्रायः अध्यात्मको भाषामा प्रयोग गरिन्छ, जो हाम्रो आँखिभौंको बिच नासिकाको फेदमा भएको कल्पनातित आँखा हो, यो परब्रह्मको संकेत हो। परब्रह्म भनेको सम्पूर्ण ब्रह्माण्ड हो ,संसार हो हामी हो ,सम्पूर्ण चराचर हो, ॐ पनि यही हो। यो चक्षु हाम्रो कल्पनामा भएको प्रमाण स्वरुप शिवजीको मूर्ति वा फोटोमा तेश्रो नेत्र ठाडो देखाईन्छ। हामीले देवताको पूजा गर्नु अगाडि परब्रह्मको सम्झना स्वरुप टिका तेश्रो नेत्रको प्रतिक स्वरुप लगाउँछौं। हामीले पूजागर्ने शिवलिङ्ग पनि परब्रह्मको प्रतिक हो ,लिङ्ग शब्दको अर्थ पनि प्रतिक नै हो ।वास्तवमा यसलाई लिङ्ग मात्र नभनेर ज्योतिर्लिङ्ग भन्नु उचित हुन्छ। पूजा गर्नु भन्दा अगाडि बालिने बत्ति परब्रह्मको प्रतिक हो, बत्तिको ज्वालामा परब्रह्मको आभाष हुन्छ। यसैले दिनमा गर्ने पूजामा पनि बत्ति परब्रह्मको प्रतिक स्वरुप बालिन्छ। अर्कोकुरा आफ्नो शुद्ध बुद्धि प्रकाशित होस्‌ भन्ने अर्थमा पनि दीपक (बत्ति) बाल्नुपर्छ, अर्थात सबै शुभ कर्मको शुरु बत्ति बालेर गरिन्छ। अर्थात, चक्षु प्रकाशको स्वरुप हो, प्रकाश ज्ञान हो।