“नेपाल न्युजिल्याण्ड फ्रेन्डसिप सोसाइटी” व्दारा क्यान्टवरी क्षेत्रको सामुदायिक रेडियो; प्लेन्स एफ.एम. को  फ्रिक्वेन्सी मोडूलेसनको रेडियो तरंग  मार्फत नेपाली भाषाको रेडियो कार्यक्रम नमस्ते -ने पाल  को विधिवत प्रसारण सुरु गरिएको थियो । यो क्षेत्रमा पहिलो पटक नेपाली भाषामा रेडियो गुन्जेको त्यो दिन थियो-सन् २००७ अप्रिल ९ तारिख । यसरी नेपाली आवाज र नेपाली भाका रेडियोमा गुन्जिन-घन्किन सुरु भएको त्यो दिनको निरन्तरता आज पर्यन्त जारी छ । 

हरेक यात्राको निरन्तरता एउटा गन्तब्यका लागि हुन्छ भनिन्छ तर नमस्ते - नेपाल, यात्रा निरन्तरताको एउटा रेडियो कार्यक्रम मात्र हो । क्राइसचर्च शहरको आस-पास क्षेत्रमा एफ.एम. ९६.९ मेगाहर्जमा सोमबार बेलुका ८ बजेको समय; त्यहि एउटा यात्रा निरन्तरताको माध्याम बन्दै आएको छ ।

नेपाली समुदायको बसोबास रहेका न्युजिल्याण्डका विभिन्न शहरमा नेपाली भाषाका रेडियो कार्यक्रम हरु प्रसारणमा हुँदै आएका छन् । हामीले नेपाली नयाँ वर्ष बि.स. २०८१ मनाउंदै गर्दा क्राइसचर्च शहरको नमस्ते - नेपाल को रेडियो यात्राले १७ वर्ष पार गरेको छ। यो अवधिमा यहाँहरुबाट प्राप्त माया, सदभाव र स्नेहका लागि हृदय देखि नै कृतज्ञता ब्यक्त गर्न चाहन्छु । 

बिषय र प्रसंगहरु दोहोरिएको जस्तो पनि लाग्न सक्छ तर यथार्थमा पहिलो पुस्ताको विदेश बसाई; क्रमस: लम्बिंदै स्थायी बसोबासका रुपमा परिणत भएको छ । यसै क्रममा नेपाल र नेपालीपन सँग प्रत्यक्ष र परोक्ष रुपमा जोडिन सामुदायिक रुपमा विभिन्न खाले प्रयासहरु हुँदै आएका छन् । हाम्रो समुदाय भित्र नेपाली भाषा- कक्षा, साहित्य, खेलकूद, कला-मनोरंजन, सास्कृतिक लगायतका कार्यक्रमहरु नियमित र उत्साहजनक सहभागिताका साथ संचालनमा रहेका छन् ।  

नेपाली भाषाको प्रयोग र त्यसको लगाव प्रति  विदेशमा भएपनि पहिलो पुस्तामा खासै अन्तर र द्विविधा पाइदैंन । यही बढ्दै - हुर्केका दोस्रो पुस्ताका भाइ-बहिनी, छोरा - छोरीहरुमा भने नेपाली भाषाको प्रयोग व्यवहारिकता भित्र नपर्ने भए पछि औपचारिक - अनौपचारिक रुपमा यसको प्रयोग घट्दै - पातलिंदै गएको महशुश गर्न सकिन्छ । अव, झन् यहि जन्मी हुर्कंदै गएका तेस्रो पुस्ताको जनसंख्या पनि उल्लेख्य भए पछि नेपालसँगको भावनात्मक सम्बन्ध तथा मातृभाषासँगको लगाव र झुकाव नचाहेर पनि पर - पर धकलिन्दै जाने डर देखिन्छ । यसबीचमा केहि प्रयासहरु पनि नहुने हो भने त पुस्तान्तरण सँगै बचे - कुचेका नेपालीपन पनि हराएर जाने हो की भन्ने चिन्ता थपिंदै गएको छ ।

बिदेशमा हुने नेपाली भाषामा आधारित हरेक क्रियाकलाप बिशेषत: दोस्रो र तेस्रो पुस्ताको क्रियाशीलतालाई उर्वर बनाई राख्न मद्दत पुर्याउने गर्दछ। बिशेष गरी न्युजिल्याण्डमा पनि नेपाली भाषा-साहित्य, कला-सस्कृति झल्कने प्रदर्शनी र नेपाली रेडियो कार्यक्रम लगायतका गतिशील प्रयासहरु हुँदै आएका छन् ।

नेपाली पृष्ठभूमिसँग जोडिएर आउने भाषा, कला र संस्कृति तथा रहन - सहन लगायतका बिषयहरु; नेपाली समुदायले जहाँ रहेपनि त्यसलाई उत्तिकै रुपमा अंगाल्दै आएको छ । नेपालबाट अस्थायी र स्थायी रुपमा बाहिर रहेका नेपालीहरुले बिदेशी भूमिमा जातीय, क्षेत्रीय, र राष्ट्रिय महत्व राख्ने पर्वहरु मनाउने जोश - जाँगर त्यसैका उदाहरणहरु हुन्, अनि त्यसै अनुसारको पहिरन र सजावट पनि । अंग्रेजी, ब्यबहारिक भाषा भए तापनि नेपाली भाषा हाम्रो समुदायको पहिचान हो भने नमस्ते - नेपाल, रेडियो  कार्यक्रम त्यसको पहिचान गर्ने सजिलो र प्रतिनिधि मूलक माध्यम बनेको बिश्वास गर्न सकिन्छ। यद्दपी, यसबीचमा सामान्य गुजारा गर्ने देखि लिएर हरेक पेशागत क्षेत्रहरुमा पनि नेपालीहरुको आबद्धता बढ्दै गएको छ । क्राइसचर्च शहर लगायत न्युजिल्याण्डका अन्य स्थान हरुका नीजि तथा सरकारी निकाय, तथा विभिन्न पेशागत क्षेत्र-संकायमा नेपाली हरुको विशिष्टता तथा गर्विलो उपस्थिति देखिएको छ । ती मध्ये कति क्षेत्रमा नेपाली समुदायका व्यक्तित्वहरु उदाहरणिय नेतृत्व भूमिकामा समेत रहनु भएको छ । यी सबैले समग्र नेपाली समुदायको क्रियाशीलतालाई प्रस्तुत गर्न सजिलो बनाएको छ ।  

आवश्यकता पनि होला, रहर पनि; तर जे होस् हामीलाई हाम्रो आफ्नै त केही न केही कुरा चाहिन्छ, चाहिन्छ । सायद यस्तै कुराबाट नै क्राइसचर्चमा रेडियो  प्रसारणको बाटो खुलेको पो थियो की ! नेपाल मै हेरौं न, रेडियो प्रसारणको क्षेत्र र अवस्था । अहिले देशका ७४ वटा जिल्लामा एफएम रेडियो स्थापना भइसकेका छन्। झन्डै ६ सय १६ वटा रेडियो इजाजतपत्र जारी गरिएका छन् भने ४ सयभन्दा बढी एफएम रेडियोले नियमित प्रसारण गरिरहेका छन्। त्यसमा २ सय ८५ वटा सामुदायिक एफएम छन्।  सन् १९२२ देखि रेडियो प्रसारण सुरु भए यता न्युजिल्याण्डमा लगभग तीस रेडियो नेटवर्क र स्टेशन समूहहरु द्वारा प्रसारणको प्रभुत्वमा रहेको देखिन्छ। ती मध्ये सामुदायको प्रतिनिधित्व गर्ने खालका माओरी जनजाति, प्यासिफिका समुदाय, जातीय अल्पसंख्यक, क्रिश्चियन धर्म तथा विशेष रुचिहरूको सेवा गर्ने धेरै रेडियो स्टेशनहरू पनि छन्।

जहाँसम्म नमस्ते - नेपाल कार्यक्रमले रेडियोको आवाज मार्फत उही भाषा बोल्ने - बुझ्ने व्यक्ति र समुदायलाई क्राईसचर्च आसपास मात्र होइन, हामीसँग अन्तरसम्बन्ध भएका न्युजिल्याण्डका अन्य शहरमा रहेका नेपालीहरुसँग यहाँका हामी र हाम्रा गतिबिधिका बारेमा जानकारी लिन - दिन सजिलो बनाउने प्रयास गर्दै आएको छ । रेडियोले गर्दा  एक - अर्कोमा जान - पहिचान नै नभएका, अन्य देशका भिन्न भिन्न शहर क्षेत्रमा रहेका नेपालीहरुसँग पनि हामी नजानिँदो तरिकाले जोडिएका छौं ।

यो १७ बर्षे यात्राका क्रममा रेडियो कार्यक्रमले नेपाली समुदायको समग्रता,कृयाशीलतालाई प्रतिनिधित्व समेत गरेको छ । यसक्रमका केही उल्लेखनीय प्रसंगहरु पनि जोडिन आएका छन् । यहाँहरु मध्ये धेरैलाई जानकारी भई सकेको हुनु पर्छ । प्लेन्स एफ.एम मा अहिले २० भाषाका ९० भन्दा बढी रेडियो कार्यक्रमहरु संचालनमा छन् भने ती मध्ये सबैभन्दा सुनिने कार्यक्रमको सूचीमा नमस्ते – नेपाल  लामो समय देखि दोस्रो  स्थानमा रहँदै आएको छ । त्यस्तै अर्कोतर्फ न्युजिल्याण्डको १२ सामुदायिक रेडियोहरुको नेटवर्क मार्फत प्रसारण हुने करिब एक हजार भन्दा बढी कार्यक्रमहरु मध्ये नमस्ते - नेपाल धेरै सुनिने कार्यक्रमको छैटौं स्थानमा परेको थियो । त्यस्तै, क्राइस्टचर्च सिटी काउन्सिलले सम्भावित भौगोलिक आपद - बिपदको तयारी तथा व्यवस्थापनका लागि पूर्व - सूचना एवम् जानकारी गराउने अभियानका लागि समेत चुनिएका आठ  मध्ये नेपाली भाषा पनि एक थियो ।

अझ महत्वपूर्ण कुरा, एउटा समग्र रेडियो कार्यक्रम उत्पादन सँग जोडिएका कार्यक्रमको बिषय - सामाग्री, प्रस्तुतीको शैली, कार्यक्रम उत्पादनको प्राविधिक लगायतका हरेक पक्षमा उत्कृष्ट भएर छानिने ‘’न्युजिल्याण्ड रेडियो अवार्ड’’ को सन् २०२१ संस्करणमा सामुदायिक रेडियो कार्यक्रम विधामा नमस्ते - नेपाल फाइनालिस्ट (उपविजेता) बनेको थियो ।

यसबाट क्राइसचर्चबाट प्रसारण हुने भए पनि नमस्ते - नेपाल ले न्युजिल्याण्डका सम्बन्धित निकायहरुमा सम्पूर्ण नेपाली समुदायहरुको उपस्थिति र क्रियाशीलतालाई प्रतिनिधत्व गर्ने माध्यामहरुमा एक बनेको छ ।  रेडियो एक महत्वपूर्ण साधना हो जसले समाचार, सूचना, मनोरञ्जन, शिक्षा, र सामाजिक संवादका लागि माध्यम प्रदान गर्दछ। नमस्ते - नेपाल क्राइसचर्चबासी नेपालीहरुको स्थानीय चासो र गतिबिधिहरु समेट्ने एउटा गहकिलो माध्यम हो । ती मात्र हैन, नेपाली चाड - पर्व तथा प्रमुख दिवस सम्बन्धि प्रसंगहरु, नेपालीको चासो भित्र पर्ने प्रतिनिधि खबर, जानकारी र नेपाली गीत - संगीत यसको प्रमुख प्रसारण सामग्री हुन् ।

यो बाहेक, नमस्ते - नेपाल को माइक्रोफोन पछाडी बसेर आफ्ना अनुभव - अनुभूति सुनाउन इक्छुक हुनुहुन्छ भने यहाँहरुलाई सधैं नै स्वागत छ । रेडियोको आवाज मार्फत क्राइसचर्चबासी नेपाली समुदायको सेवा गर्ने अवसर, साथ, यहाँहरुले हौसला प्रदान गर्दै आउनु भएको छ । त्यस्तै, विभिन्न समयमा सोसाइटीको नेतृत्व गर्नु हुने कार्यसमितिको सहयोग प्रति पनि उत्तिकै ऋणी रहेको छु । 

नेपाली भाषा, सांस्कृतिक गीत, संगीत, कथा, कविता, र अन्य पारम्परिक विरासतका कार्यक्रमहरूले विदेश बसाई क्रममा नेपालीहरूलाई आफ्नो संस्कृति र भाषा प्रतिको लगाव, मोह, प्रभाव  र आकर्षण बढाउन सहयोगी बन्दै जान सक्छ । रेडियोको माध्यमबाट नेपाली भाषा, शब्दकोश, व्याकरण, अर्थ, उच्चारण, र विशेषताको प्रयुक्त प्रयोगबाट भाषाको संरक्षण र सम्बर्धनमा एउटा इट्टा थपिएको बिश्वास लिएको छु । 

स्रोताहरुका लागि धेरै रमाईला कार्यक्रमहरु उत्पादन गर्न सकिने सम्भावनाको खोजी निरन्तर नै छ । तर, केही प्राबिधिक कठिनाई र चुनौतीहरु हुँदा यसलाई हामीले गम्भीर र प्रभावकारी रुपबाट उपयोग गर्न नसकिरहेका अवस्था हुँदा हुँदै पनि रेडियो यात्रा निरन्तरताले १७ औँ बर्ष नाघेको छ । यहाँहरु सबैमा नयाँ बर्ष बि.सं. २०८१ को धेरै शुभ-कामना अनि साधुवाद पनि ।

इमेल: namastenepalchristchurch@gamil.com

फेसबुक पेज: Namaste Nepal Christchurch New Zealand 

तत्कालिन कार्यसमितिका केही सदस्यहरु रेडियोमा।