
सफल जीवन
बिना बोलावट धर्तीमा आइयो
आमाको काखमा सधैं रमाइयो।
बाल्यकालभरि लाडप्यार पाइयो,
चिन्ता, शोक, रिस–राग बिना रमाइयो।
गजानन्दको आशीषले अक्षरारम्भ भयो,
प्रभुको सधैं कृपा प्राप्त भइरह्यो।
पढाइमा सधैं मन लागिरह्यो,
असफलता कोसौँ टाढा भयो।
बढी सुन्नू, कम बोल्नू शिक्षा पाइयो,
जीवनको आधार त्यसैलाई बनाइयो।
प्रभुको प्रार्थनामा नै आत्मा शान्ति छ,
दुःखीको सेवामै मन प्रसन्न छ।
घमण्ड र मपाइँबाट सधैं टाढा रहूँ,
स्वार्थरहित सेवा सधैं गरिरहूँ।
कुलत तथा मादक सेवनबाट दूर रहूँ,
दुष्ट, घमण्डी, कपटी र रिसाहाबाट परै रहूँ।
सत्कर्ममा सधैं मन लागिरहोस्,
कसैको मन दुखाउनु नपरोस्।
सामाजिक सेवामा संलग्न भइरहूँ,
यसैमा मन हरदम लागिरहोस्।
