
आयुर्वेदीय स्वस्थ जीवन शैली
जीवनलाई सफल पार्न र सुखमय वनाउने प्रमुख साधन भनेको स्वास्थ्य नै हो भन्ने बुझेका हाम्रा महर्षिहरुको दीर्घकालिन प्रयासवाट आर्युवेद विज्ञान विकसित भएको थियो । “ स्वस्थ्य व्यक्तिको स्वास्थ्य रक्षा र रोगीको रोगको प्रशमनको बहुआयामिक सिद्धान्तको उदघोष गर्दै, पूर्विय सभ्यताको प्रादुर्भाब सँगै बिकसित भएको आर्युवेद चिकित्सा पद्धतिको रुपमा स्थापित भएको छ।“
आयुर्वेद जीवनको संरक्षण र सम्वर्धन ज्ञान गराउने एक चिकित्सा पद्धति हो । आयुर्वेद जीवन सम्वन्धी सम्पूर्ण ज्ञान गराउने विज्ञान हो । जसवाट आयुको ज्ञान हुन्छ र जाँहाआयुको बिचार गरीन्छ भने त्यो शास्त्र नै आयुर्वेद हो । आयुर्वेद भनेको चिकित्सा पद्धति मात्र नभएर सर्म्पूण जीवन पद्धति हो । यसले जिवन जिउने पद्धतिको साथ साथै मानवको शारीरिक, मानसिक, सामाजिक र नैतिक शिक्षाको जानकारी गराउँदछ ।
हरेक मानिस जीवनमा सफलता चाहन्छ । सुखी हुन चाहन्छ । सुखमय अनि आनन्दमय होस् भन्ने चाहन्छ । तर मानव सुख र सफलता खोज गर्दा गर्दै दुःखमा पुग्दछ। यसको मूल कारण जीवनको मर्मलाई पूर्ण रुपमा जान्न नसक्नु र अनुशासित नहुनु नै हो ।
अनुशासन भनेको आफ्नो जीवनलाई सहि र सार्थक ढङ्गले अगाडी बढाउने मार्ग चित्र हो । यसैको परिधि र सिमाहरुमा रहेर हामी आफुलाई राम्रो वाटोमा हिडाउन प्रयत्न गर्दछौ । अनुशासन भन्दा पनि आत्म अनुशासन महत्वपूर्ण छ । आत्म अनुशासन भनेको आफुले आफैलाई निश्चित सर्त र सिमा भित्र बाध्नु हो । अनर्थ र अनैतिक कामहरुवाट आफुलाई रोक्नु हो । मानसिक सत्कार्यको सदैव पालना गर्नु नै आचार रसायन हो । जसवाट मानसिक बृध्दि र आरोग्यता प्राप्त हुनुको साथै शरीर स्वस्थ र फुर्तिलो रहन्छ ।
सुखमय, संतोषी एवं समाजमा प्रतिष्ठित जीवनयापन गर्नको लागि गरीने असल आचरणहरु (काविक, वाचिक र मानसिक प्रवृत्तिहरु) लाई सद्वृत्त भनिन्छ । सद्वृत्तको पालनावाट मानिसमा सदबुद्धिको विकास, मनमा एकाग्रता, जीवनीय शक्तिको विकास, नैतिक एंव स्वआध्यात्मिक विकास हुन्छ । साथै सद्वृत्तको पालना गर्नाले मानसिक प्रदुषण पनि कम हुन जान्छ । सद्वृत्त अर्न्तगत मानसिक सद्वृत्त, चरित्र सम्बन्धी सद्वृत्त, सामाजिक सद्वृत्त, धार्मिक सद्वृत्त, वैयत्तिक सद्वृत्त (स्वच्छता आहार, ब्यायाम, अध्ययन, मैथुन) आदि पर्दछन् । स्वास्थ्य र प्रवृत्ति –जन्म जातै सकारात्मक प्रवृत्ति भएका मानिसहरुलाई दुर्ब्यसनी भएतापनि तुलनात्मक रुपमा स्वस्थ रहेको पाइयो भने नकारात्मक प्रवृति भएकाहरु स्वस्थ नभएको र छिट्टै मर्ने गरेको पाइएको छ ।
सकारात्मक हुने तरिका –प्रकृतिसँग जोडिएर नियमित हास्नु, नाच्नु, गाउनु, खेल्नु, रुनु, मनको बह पोख्नु, गल्ति स्विकार गर्नु र सब भन्दा ठुलो कुरा हरेक नकारात्मक कुराको सकारात्मक पक्ष खोज्ने बानी बसाल्नु हो । स्वस्थ्य जीवन शैली एक राम्रो सँग जीवन जिउने कला हो, स्वस्थ रहनका लागि विभिन्न नियमहरुको पालना गर्नु पर्ने हुन्छ । जुन हाम्रो जीवन पद्धति सँग सम्बन्धित रहने गर्छ । जस्तै दिनचर्या, रात्रीचर्या, ऋतुचर्या, योग, प्राणायाम, पच्यकर्म विधि, आहार–विहार, अधारणीय वेग तथा धारणिय वेग आदि क्रियाकलाप स्वस्थ जीवनका अमुल्य र अपरिहार्य क्रिया हुने गर्छन ।
शरीर र मन (दिमाग) बलियो भए सम्म जीन्दगी गाह्रो लाग्दैन । आफ्नो दिमागले साथ दिएन भने स–साना समस्या पनि ठुला देखिन थाल्दछन । त्यसका लागि हरेक दिन कम्तिमा आधा घण्टा फटाफट हिड्नाले दिमाग तरुण रहन्छ । मौका मिल्नासाथ हाँसी हाल्नु पर्दछ यसले स्मरणशक्तिलाई वनाई रहन मद्दत गर्दछ । मन र तनलाई स्वस्थ पार्ने विधिमा योग र ध्यान मुख्य हुन ।
शरीर र मनको संतुलन नै योग हो । अलभ्यको लाभ वा अप्राप्तीको प्राप्ती नै योग हो । योगले भन्छ शरीर र मनलाई दमन नगर बरु यसलाई रुपान्तर गर। रुपान्तरले नै जीवनमा वदलाव आउछ । योग शरीर, मन र भावनाहरुलाई सन्तुलित राख्न तालमेल मिलाउने एक साधन पनि हो । योग जीवन पनि हो । योग तथा ध्यान विधि दुखाइमा मात्र फाईदाजनक छैनन् बरु रिस तथा डिप्रेसन जस्ता समस्यामा पनि यिनीहरुले उपचारको भुमिका खेलेका हुन्छन ।
सफलताको लागि निद्रा पनि अति आवश्यक छ । एक रात सुत्न पाइएन भने अर्को दिन लखतरान परेको अनुभव हुन्छ । निद्रा नपुगेमा दिनभर नै दिक्क लाग्ने,झिंजो लाग्ने, जटिल कामहरु गर्न मन नलाग्ने आदि हुन सक्दछन । एकरात राम्रो सँग सुत्न पाइएन भने रोगसँग लड्ने कोषहरु घट्न थाल्दछन तसर्थ पनि स्वस्थ भएर वाच्नको लागि जसरी खाना र पानीको आवश्यकता हुन्छ निद्राको पनि त्यतिकै महत्व हुन्छ ।
खानपिनमा हामी धेरै लापरवाही गर्दछौ । नखानु पर्ने खान्छौ, नखानु पर्ने समयमा खान्छौ यही कारण हामी रोगी हुन्छौ । चिप्लो–चाप्लो, मसलेदार, जंकफूड वा फास्टफूडमा रमाउछौं, मैदाजन्य वा पाकेटवन्द खानेकुरामा लोभिन्छौ। मिठो मसिनो खाने बहाना खोजी रहन्छौ । यस्तो अस्तब्यस्त खानपिन शैलिले शरीरलाई रोगी बनाउँछ । यसर्थ खानपिनमा पनि हामी अनुशासित बन्नु पर्दछ ।
खानपिनको निश्चित तालिका निर्धारण गर्नु पर्दछ । दिनमा कति पटक, के–के, कस्ता कस्ता खाने भन्ने निर्धारण गर्नुपर्दछ । स्वास्थ्य मैत्री, सुपाच्य, स्वास्थ्यवर्धक खानेकुरा खानुपर्दछ । मिठो पाउँदा पेट चर्किने गरी खाने, नमिठो भए खाँदै नखाने प्रवृतिले पनि हामीलाई रोगी वनाउँछ । भनिन्छ की “संसारमा जति मानिस खान नपाएर मर्छन् त्यो भन्दा बढी खान नजानेर”।
स्वस्थ खाना खाने–एक स्वस्थ जीवनशैलीको दिसामा संतुलित (हितकर) आहार लिनु पहिलो र महत्वर्पूण कदम हो । जुन आहारको सेवनले शरीरगत तन्तुहरुको बृद्धि हुन्छ, स्वास्थ्य एंव आरोग्यको बृद्धि हुन्छ, बलवर्ण इन्द्रियहरु प्रशन्न हुन्छन यस्तो आहारलाई हितकर आहार भनिन्छ । आहारको बिषमताले रोग उत्पन्न गर्दछ । रोग उत्पन्न गर्ने आहार अहितकर आहार हो । संतुलित आहारमा निश्चित मात्रा र अनुपातमा विभिन्न प्रकारका प्रोटिन, कार्वोहाइड्रेट, वसा, खनिज, भिटामिन र बैकल्पीक पोषकतत्व पर्याप्त मात्रामा फाइवर, एन्टीअक्सीडेण्ट, न्यूट्रास्यूटिकल हुनुपर्दछ । जसवाट सकरात्मक स्वास्थ लाभ हुन सकोस् । संतुलित आहारले उर्जा बढाउँछ, प्रतिरक्षा प्रणाली मजवुत वनाई अनावश्यक तौल बढाउनलाई रोक्छ र शरीरलाई आवश्यकतानुरुप पोषण गर्दछ । खाना खाँदा भोजनलाई नमस्कार गरेर, पवित्र भएर, प्रशन्न रहेर अग्निमा हवन गरेर एकान्तमा स्वच्छ र स्वस्थ स्थानमा चपाई चपाई पोषणयुक्त पोषिलो खाना खानुपर्दछ ।
भोजन समयमा (पेट) आमाशयको एक भाग ठोस द्रब्यले, एक भाग पेय पदार्थले भर्नु पर्दछ । बाँकी भाग वातादि दोष संचारको लागि खाली राख्नु पर्दछ वा दुई भाग अन्नले र एक भाग जलले भर्नु पर्दछ । मात्रावत आहार सेवनिय हुन्छ । मात्रावत आहारको सेवनले प्रकृतिवल (स्वास्थयमा बाधा नहुनु) वल, वर्ण र सुखायु प्राप्ति हुन्छ । उचित समयमा खाना पाचन हुनु समयमा भोक लाग्नु, मलमूत्रको यथोचित त्याग हुनु, शरीरमा उत्साहका साथ हलुका महसुस हुनुलाई सामान्यतया स्वस्थ अवस्था मान्न सकिन्छ । स्वस्थ जीवनका लागि हाम्रो दैनिक खानपानले अर्को महत्वपूर्ण भुमिका खेल्दछ जस्तै बिहान प्रात समयमा उठ्ने वित्तिकै चिसोपानी भन्दा मनतातो पानी पीउनु हितकर हुन्छ । त्यस्तै खानामा प्राकृतिक वीज अंकुरीत, दहि, फलफुल, सागको संतुलित आहार हुनुपर्दछ । पहिला खाएको खाना पाचन भएपछि मात्र दोश्रो खाना खाने बानी बसाल्नु पर्दछ । जसको मापन मलमूत्रको यथोचित त्याग शारीरिक उत्साह, हल्कापन, भोक तिर्खाको इच्छा हुनुले गर्न सकिन्छ ।
विहानको खाना गरिष्ठ र बेलुकाको खाना हल्का खालको हुनुपर्दछ । हाम्रो खाना षडरस युत्तफ् हुन आवश्यक छ । खाना खाँदा पहिले हल्का चिल्लो (जस्तै गो घृत) त्यसपछि क्रमश गूलियो, अमिलो, नुनिलो, पिरो, तितो, टर्रो खाना लिदै जानुपर्छ । विहान खाली पेटमा दुध मोही, काक्रो बदाम आदि बेलुकाको समयमा दहि, माछा, मासु गुन्द्रुक, करेला, लौका र चिसो पेय पदार्थ खान उचित हुदैन । तर सुत्ने बेलामा भैसीको शुद्ध दुध लाभदायक एंव निन्द्राजन्य मानिन्छ । यसको अलावा विरुद्ध भोजन जस्तै साग–वेसार, आँप–दहि र महि, माछा मासु, र दुध आदि जस्ताको एकै साथ सेवन गर्नु हुदैन। हामीले खानेकुरा ऋतु अनुकुलको पनि हुनु उत्तिकै जरुरी छ ।
भोजनको तुरुन्त फ्रिजको ठण्डापानी या शितलपेय को प्रयोगले शरीरस्थ अग्नि कम हुन गई आहारको पाक ठिक सँग हुदैन रोग लाग्न सक्ने हुन्छ । त्यस्तै धुम्रपान गर्नाले १ चुरोटको असर १० गुणा बढ्न गई ५०% अर्वुद रोग (क्यान्सर) हुने सम्भावना हुन्छ । खाना खाना साथ नुहाउन पनि हुदैन, चिया, कफी पनि पिउनु राम्रो मानिंदैन । तुरुन्त सुत्न पनि हुँदैन । तैलिय वा चिल्लो मख्खन, मेवा, मिठाई, खरबुजा, तरबुजा, मुला काक्रो मकै खाना साथ पानी पिउनु स्वस्थकर मानिंदैन । दिउँसोको खाना पछि १/२ घण्टा पछि मात्र सुत्नु उपयुक्त हुन्छ भने राती खाना खाएको २ घण्टा पछि मात्र सुत्नु राम्रो मानिन्छ । रातीको खाना पछि १५/२० मिनेट वा ५०० भन्दा बढी पाइला घर भित्र वा बाहीर हिड्नु स्वस्थकर मानिन्छ । स्वस्थ जीवन शैली कुनै एक दिनको मात्र काम होइन यसमा स-साना प्रयासको श्रृंखला सामिल हुन्छ जसले आफ्नो जीवनको खुसी, स्वस्थ र योग्य बनाउन को लागि प्रेरीत गर्दछ ।
दिन चर्या भनेको प्रतिदिन उठने बेलादेखि सुत्ने बेलासम्म गरीने योग्य चर्या हो र दैनिकी जीवनमा गरीने कुरा पनि हो । जस्तो समयमा सुत्ने र समयमा उठ्ने (बेलुका १० बजे देखि विहान ४ बजे सम्म) यो समयलाई ब्रम्ह मुर्हत पनि भनिन्छ, हितकर मानिन्छ ) तालिका बनाउनु, दिनभरी काम गर्दा काम प्रति लगाव राख्ने, मेहनत गर्ने, सकारात्मक तथा रचनात्मक ढंगले गर्ने प्रयास गर्ने, कुन काम गर्दा उपयुक्त हुन्छ, बढी फलदायी हुन्छ त्यस अनुरुपको काम गर्ने, जोसिला, उर्जावान, सकारात्मक, कर्मठ, मेहनति, सिर्जनशिल साथीहरुको सर्कल बनाउने र त्यही सर्कलमा आफुलाई घुलमिल बनाउने । दैनिक कार्य-तालिका अनुशासीत भएमा हाम्रो लय विग्रींदैन । जीवनमा जव लय हुन्छ त्यसले एउटा धुन पैदा गर्दछ । जीवन मधुर हुन्छ । तनाव मुक्त हुन्छ ।
शरीर स्वस्थ रहन व्यायामको पनि त्यतिकै आवश्यकता छ । शरीरको चेष्टा जसवाट स्थिरता आउँछ र बल बढ्छ । ब्यायाम गर्दा ऋतु अनुसार शरीरको अवस्था र शक्ति अनुसार मात्र गर्नु पर्दछ । धेरै ब्यायाम गर्नाले पनि शरिरमा हानी पुग्दछ ।
संक्षेपमा उठेदेखि सुत्ने बेलासम्म आफ्नो दिनलाई ब्यवस्थित वनाउन निम्न कार्यहरु गरेमा शरीरलाई स्वस्थ राख्न मद्दत मिल्दछ । ब्रम्ह मुर्हतमा उठनु मलोत्सर्ग एंव गुदा प्रक्षालन, आचमन, दन्त धावन, शिरमा तेलको मालिस शरीरको अग्यङ्गण, तर्पण, शरीर परिमार्जन, स्नान, निर्मलारभ्वरधारण (स्वच्छ लुगा लगाउनु) गन्धमाल निशेषण (चन्दन माला लगाउनु) रत्नाभर धारण ( रत्न तथा गहनाहरु लगाउनु) केश श्मश्रु (दारी, जुङ्गा नङ केश आदि समयमानै काट्नु ) प्रदत्र धारण (जुत्ता लगाउनु), छत्र धारण र दण्ड धारण ( समय अनुसार उपयुक्त भएमा गर्ने बृत्ति उपाय निवेषण (धर्म हुने काम गर्ने) शान्त हुने अध्ययन गर्ने । स्नान गर्दा उष्ण जलले आधा शरीरको परिषेक तथा शितल जलले सबै शरीरको परिषेक गर्नुपर्दछ । स्नान गर्नु भन्दा पहिले सर्स्यौको तेलले मालीस गर्ने (कमसेकम १०–१५ मिनेट) मालीस र स्नानको फरक १० मिनेटको हुनुपर्दछ । तेल मालीस पछि केही समय योगासनका लागि निकाल्नु पर्दछ करिव ३० मिनेट, त्यस पछि १५/२० मिनेट पश्चात मात्र स्नान गर्ने । यदि समय नपुग भए मालीसको १० मिनेट पछि मात्र स्नान गर्नु उपयुक्त हुन्छ ।
शरीर स्वस्थ रहनका लागि धारणीय वेगहरुको धारण गर्नुपर्दछ ।
अधारणीय वेगहरुको वेग रोक्नाले शरीरमा विभिन्न किसिमका रोगहरु लाग्न सक्दछन । अधारणीय वेगहरुमा मल, मुत्र, शुद्र, अपान वायू, छर्दि (वमन) बुद्गार (डकार), भोक, तिर्खा, पसिना, निन्द्रा, श्वास, अश्रु आदी पर्दछन् । यी वेगहरु रोक्न हुँदैन, उचित र ठिक समयमा त्याग गर्नु पर्दछ । अन्यथा, विभिन्न शारीरिक रोगहरुको सिकार बन्नुपर्ने अवस्था आउन सक्दछ । रात्री चर्यामा – सौर्यकालमा लघु एवं हितकारी भोजन गरेर, पवित्र भएर ईस्वरको स्मरण गर्दै आरामसँग आरामदायी बिछयौनामा सुत्नु पर्दछ । ऋतु चर्यामा ऋतुअनुसारको आहार विहार गर्नुपर्दछ ।
आजको भाग दौड भरी समाजमा स्वस्थ जीवनशैलीलाई अपनाउनु प्रगतिकाृ समकक्ष मानिन्छ । नियमित शारीरिक ब्यायामको साथ संतुलित आहार लिएर जीवन शैलीलाई संतुलित र सुनिश्चित गर्न सक्दछ । अन्तमा शरीर सारै अस्वस्थ रहयो भने कुनै पनि लक्ष्य हासिल गर्न सकिन्न किनभने यो शरीर अन्य सबै शरीरका अंगहरुको वाहन हो । वाहन विना छोटो समयमा लामो यात्रा वा गन्तब्यमा पुग्न सकिंदैन । नगद र जिन्सी भन्दा ठुलो सम्पत्ति हो स्वास्थ्य (ज्भबतिज ष्क धभबतिज), नगद र जिन्सी दुवैको निर्माण गर्ने शक्ति पनि स्वास्थ नै हो । अतः पहिलो सम्पत्ती हो स्वस्थ शरीर, स्वस्थ्य रहयो भने घर परिवार समाज र राष्ट्रलाई पनि केही योगदान गर्न सकिन्छ ।