
म सिख्रो रूख, एक्लै छु
याद छ, वसन्तले ममा पाइला टेकेपछि
टुसा पलाएर नयाँ पात निस्कदै थिए।
उमंग बढ्दै गयो।
मेरो फूलका अंकुराहरू फक्रिन लागे।
र रंगीचंगी चराहरू,
चिरबिर, चिरबिर गर्न थाले।
खेले, नाच्न थाले।
वैशको उन्मादले म हरियो भएँ।
जवानी चढ्दै गयो।
चराचुरुंगीहरूले मेरो र सपनामा गर्दा,
रसिला फल भो, ग गर्दा,
मैले आनन्द लिन थालेँ।
उनीप्रति प्रेम जाग्यो,
प्रेम जस्मा तैँ,
उनैमा लिप्त,
मुटुको टुक्रास्मा तैँ,
कहिल्यै नछुट्ने,
अझ कसिलोसँग बाँधिने लालसाले गर्दा।
कस्तो!
म आफूलाई भुलिदिन्थेँ,
आफ्नै सन्तान काखमा राखेर,
छातीमा च्यापेर,
दिनरात नभनी,
तिनकै लालनपालनमा
डुबुल्की मार्दा,
अझ गहिराइमा पुग्ने इच्छाले
आनन्दित तुल्याउँदै गर्दा,
ती मेरो शरीरमा खेले — मायाजाल।
म आफूलाई भुलिदिन्थेँ।
मेरो काखे-पाखे कतिले जोडी बनाए,
घर बसाए,
बच्चे राज जमाए।
म सुरक्षा दिन तल्लिन हुन्थेँ।
पानी, हावा र घामसँग उनीहरू मस्त हुन्थे।
म प्रसन्न हुन्थेँ, उनको आवाजमा रम्थेँ।
उनको धुनमा गुन्गुनाउँथेँ।
कहिले काहीँ कौवा,
मेरो घर आएर कराउँदा,
बे सुर लाग्थ्यो,
उदेक लाग्थ्यो, रिस उठ्थ्यो।
कालो कौवाको तिखो आवाजले
र रंगीचंगी चराहरूको संगीत बिथोलिएजस्तो,
साना बच्चाहरूको निद्रा खल्बलिएजस्तो,
कुनै चरा डरले अल्मलिएजस्तो—
मलाई पीडा हुन्थ्यो।
म कौवासँग कराउँथेँ, रिसाउँथेँ, हकार्थेँ र भन्थेँ,
"जा मेरो घरमा नआ", अनि भगाउँथेँ, धपाउँथेँ।
ऊ जान्थ्यो।
म शान्तिको अनुभूत गर्थेँ,
उनै चुरुंगीसँग रमाउँथेँ।
चिसो हावासँगै हिउँद लाग्न थालेपछि,
मेरो फलफूल मबाट हराउन थाले।
रसिला गाला झुर्रिए, के फुलेर झर्न थाले।
दाँत फुस्कन थाले।
सिख्रै भएँ, म कुरुप बन्दै गएँ।
मेरो प्रेमी, मेरो सन्तान, मेरो छातीका टुक्राले मलाई घृणा गर्न थाले।
एक–एक गर्दै छोडे र विदेश गए कि,
शहर पसे कि,
या मेरो छिमेकीकोमा बसे कि,
कसैको खबर छैन।
न त मेरो नै खबर।
कसैले गर्छ, मतलब पुगेपछि।
आफ्नैले भुल्दा,
आफ्नैले छोड्दा,
मन टुटे, निराश, दुःखी, खिन्न भै।
टोलेर बाँच्नुको अर्थ खोज्दै गर्दा।
आज सधैंजस्तो,
कौवा मेरो घरमा बस्यो।
तिखो आवाजले कराउँ थाल्यो।
उही रूखो बे सुरको आवाज,
सधैं एकनाश हुँदाहुँदै,
किन आज प्रिय लाग्दै छ?
म भन्दै छु:
"ए! एकैछिन बस।
तिमीलाई मेरो प्रति कुनै स्वार्थ नभएर होला।
सधैं एकनास छौ।
आउँछौ, जान्छौ।
हालखबर सोध्छौ।
तर मैले आफ्ना मानेकाले नसोध्छन्, नखोज्छन्।"
कौवा उड्यो, अर्को रुखमा बस्यो।
मतिर फर्केर भन्यो:
"जीवन नै हो, सुख-दुःख।
न मात्तिनू, न आत्तिनू।
तिमीले जो आफ्नो सोच्छौ, फर्केर आउँछन्।
माया लिन्छन्, पीडा दिन्छन्, मतलब पुर्याउँछन्।
जान्छन्, जान्छन्, जान्छन्।
तर तिमी विचलित नहो, ऊ अटल छ।
अटल रह।"
